Niluwa Online Khabar

२०८३ बैशाख १० गते
२०८३ बैशाख १० गते

प्रचण्डको दाबी : देश सम्हाल्ने र भ्रष्टाचार अन्त्य गर्ने पार्टी माओवादी नै हो

Advertisement

Advertisement

गोरखा । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश सम्हाल्ने र भ्रष्टाचार अन्त्य गर्ने शक्ति माओवादी केन्द्र नै भएको बताएका छन् ।

आइतबार गोरखामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले माओवादी केन्द्र नै जनताको आशा भएको बताए ।

संयोजक प्रचण्डले भने, “जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौं । ती मुद्दा पूरा गर्न अब माओवादी केन्द्रको पहल रहनेछ ।”

उनले तत्कालीन कामचलाउ प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको उल्लेख गर्दै त्यसबेलाको परिस्थितिमा माओवादीले पनि समर्थन जनाएको स्मरण गरे ।

“हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौं भन्ने थियो,” उनले स्पष्ट पारे ।

प्रचण्डले जेनजी पुस्तालाई माओवादी केन्द्रका उत्तराधिकारीका रूपमा व्याख्या गर्दै भने, “जेन–जी युवाहरू पनि अब आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै छन् ।”

उनले सबै राजनीतिक दललाई आगामी निर्वाचनका तयारीमा जुट्न आग्रह गरे । “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु,” उनले भने ।

संयोजक प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै भने, “देशभर हाम्रो अभियानप्रति जनतामा सकारात्मक भावना बढेको छ । अब देश सम्हाल्ने जिम्मा माओवादीले नै पाउने विश्वास जनतामा छ ।”

त्यस्तै उनले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने संकल्प समेत व्यक्त गरे । “पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई परास्त गरिएको छ । विचार मिल्नेहरूसँग एकता गरिन्छ, नभए संयुक्त मोर्चाबाट अघि बढिन्छ,” उनले बताए ।

प्रचण्डले प्रतिगामी शक्तिबाट लोकतन्त्रमाथि खतरा कायम रहेको भन्दै त्यस्ता तत्वहरूबाट सावधान रहन पनि आग्रह गरे ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.