
भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरूले श्रद्धापूर्वक घर–घरमा कुश भित्र्याएर मनाउँदैछन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्न सकिने मान्यता छ।
सनातन धर्मावलम्बीहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणी सँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको उल्लेख पाइन्छ।
यस दिन बाबुलाई आदर–सम्मान प्रकट गर्दै छोराछोरीले मनपर्ने मिठाई तथा भोजन खुवाउने र बाबुको मुख हेर्ने चलन पनि रहिआएको छ। बाबु नभएकाले भने गोकर्णेस्वरसहितका पवित्र स्थलमा गई पितृको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा छ।


