पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाले साना बचतकर्ताको बचत रकम फिर्ता गर्न थालेको छ । सोमबारदेखि पोखरा सिर्जनाचोकस्थित शाखामा एक लाख रुपैयाँसम्म बचत गरेका १५८ जनालाई रकम फिर्ता गरिएको इमेज सहकारी संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यो रकम करिब एक करोड रुपैयाँ बराबर हुन्छ ।
यसअघि सहकारीका बागलुङ, गलकोट र बुर्तिबाङ शाखामा पनि एक लाख रुपैयाँसम्मका साना बचतकर्ताको करिब पाँच करोड रुपैयाँ फिर्ता गरिएको समितिले जनाएको छ । सहकारीले चारवटै शाखाबाट झण्डै १ अर्ब ९५ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको संयोजक कार्कीले बताए ।
साना बचतकर्तालाई रकम फिर्ता गर्न मीना ग्रुप प्रालि र सहकारी सञ्चालक देवकुमार नेपाली तथा उनकी श्रीमती छेला नेपालीबीच भएको सम्झौताअनुसार घरजग्गा चल्ती मूल्यमा हस्तान्तरण गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । हालसम्म बागलुङका १,५०६ जना बचतकर्तासँग करिब १ अर्ब २० करोड बराबरको मिलापत्र भइसकेको समितिले जनाएको छ । पोखरामा दावी गरिएको ५७ करोडमध्ये ३८७ जनासँग मिलापत्र भइसकेको छ ।
संयोजक कार्की स्वयंको पनि करिब ६५ लाख रुपैयाँ सहकारीमा फसेको उल्लेख गर्दै उनले भने, “देवकुमार नेपालीको २५ करोड रुपैयाँ बैंकमा ऋण छ, कूल २ अर्ब २० करोड फिर्ता गर्नुपर्ने देखिन्छ तर उनको सम्पत्ति डेढ अर्ब रुपैयाँ जति मात्र छ ।”
रकम पाएका साना बचतकर्ता भने खुसी देखिएका छन् । सिर्जनाचोकमा फ्रेम पसल सञ्चालन गर्दै आएकी सुशीलाकुमारी साहले भनिन्, “मैले रकम पाउने आशै छोडेकी थिएँ, तर आज पाएँ, निकै खुशी छु ।” अर्की बचतकर्ता कला भट्टराईले पनि आश मरेको रकम फिर्ता हुँदा हर्ष व्यक्त गरिन् ।
यद्यपि ठूला बचतकर्ताको रकम अझै फिर्ता हुन बाँकी रहेको समितिले जनाएको छ । सहकारीको बचत रकम दुरुपयोग गरेको आरोपमा सञ्चालक एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा रहेका छन् ।


