
बागलुङ — निर्माण थालिएको १७ वर्षपछि गलकोटमा सञ्चालित दरमखोला जलविद्युत् आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ। २०६५ सालमा प्रारम्भिक योजना बने पनि व्यवस्थापकीय जटिलता, आर्थिक समस्या तथा ठेकेदार छनोटमा ढिलाइका कारण आयोजना लामो समय थन्किएको थियो।
२०७७ सालदेखि तीव्र गतिमा निर्माण अघि बढेपछि आयोजनाले यस वर्ष पूर्ण क्षमतामा उत्पादन दिन सुरु गरेको हो। गलकोट–८, काँडेबासमा ड्याम र पश्चिमतर्फ करिब ४.५ किलोमिटर टाढा मनेवापाटामा पावरहाउस निर्माण गरिएको छ।
दरमखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष नरबहादुर पुन ‘निरज’का अनुसार, असोज ३० गते नै केन्द्रीय प्रसारण लाइनमा जडान भइसके पनि परीक्षण उत्पादनका कारण नियमित आपूर्ति आइतबारबाट मात्र सुरु गरिएको हो।
यस आयोजनाको सुरुवाती इजाजत गोर्खा हाइड्रो पावर कम्पनीले पाएको थियो। लामो समयसम्म प्रगति नदेखिएपछि इजाजत रद्द भई स्थानीय तथा निजी लगानीकर्ताले गठन गरेको नयाँ कम्पनीले निर्माण अघि बढाएको हो।
इञ्जिनियर मिथिलेस चौधरीका अनुसार, आयोजनाले हाल ६.६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। वर्षायाममा पानी प्रशस्त हुँदा ९.६ मेगावाटसम्म उत्पादन गर्न सकिने छ। उत्पादित विद्युत् १४ किलोमिटर टाढा रहेको हरिचौर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
आयोजना निर्माणमा करिब ४ वर्ष लागेको थियो। प्रारम्भिक कम्पनीको निष्क्रियता, ठेकदार कम्पनी (रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिम हाइडल लिमिटेड)सँगको तालमेलमा समस्या, भौगोलिक कठिनाइ तथा स्रोत व्यवस्थापन चुनौती मुख्य कारण रहेको अध्यक्ष पुनले बताए। आयोजनामा २ अर्बभन्दा बढी लगानी भएको छ।
दरमखोला जलविद्युत् बागलुङमा अहिलेसम्म सम्पन्न भएका मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। अब स्थानीय बस्तीहरूमा स्थिर विद्युत् आपूर्ति पुग्ने अपेक्षा गरिएको छ।


