Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

पर्यटकीय क्षेत्रको प्रवद्र्दनमा गाउँपालिकाले सबैखाले कार्यक्रमहरु जोड्ने लक्ष्य

Advertisement

Advertisement

बागलुङ/सोलेडाँडासहितका तमानखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रवद्र्दनमा गाउँपालिकाले सबैखाले कार्यक्रमहरु जोड्ने लक्ष्य बनाएको छ ।

गाउँपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रम, पर्यटन गोष्ठी तथा रिर्पोटिङ कार्यक्रममा जनप्रतिनिधिले तमानखोलालाई पर्यटन र कृषि क्षेत्रको विकासबाटै समृद्दिमा लैजान सकिने बताए ।

सोलेडाँडामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पालिकाभित्रका पर्यटकीय क्षेत्रलाई ढोरपाटनसम्म जोड्ने लक्ष्य सुनाए । भौगोलिक कठिनाइका बाबजुत महत्वपुर्ण गन्तव्यमा सडक सञ्जाल पुगिसकेकोले अब स्तरीय सडक बनाएर पर्यटक भित्राउने उनले बताए । ‘हामीले ढोरपाटन आएका पर्यटकलाई तमानखोलाका गन्तव्यमा ल्याउन खोजेका छौं, त्यसका लागि पदमार्ग र सडकमार्ग बनिरहेका छन्’ बुढाले भने, ‘पर्यटन व्यवसाय बढाउन सकेमा कृषि फसलको सहजै व्यवसाय बढ्ने छ ।’

आलु, गहुँ, जौंलका उत्पादनलाई व्यवसायिक बनाउने, अर्गानिक परिकारका खाना पस्कने र पाहुनालाई स्वागत गर्ने काममा स्थानीयलाई प्रोत्साहित गर्ने कार्यक्रम उनले सुनाए ।

गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले पर्यटक बढाउन पाहुनालाई स्वागत गर्ने, खानामा आर्कषण बढाउने र सरसफाइ भएको बताए । गाउँपालिकाले केही वर्षदेखि तमानखोलाका हरेक गाउँलाई सरसफाईयुक्त बनाउने, पदमार्गमार्फत सबै गन्तव्य जोड्ने र सडक मार्गपनि बनाउने काम गरिरहेको बताइन् । उनले अब तमानखोलाका बासिन्दालाई होमस्टेमार्फत व्यवसायिक बन्न पनि प्रेरित गरेको जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत अमित परियारले पर्यटन गुरुयोजनामार्फत काम गरेर जान सके राज्यको बजेटको सदुपयोग हुने, नयाँ क्षेत्रको प्रचार र विकास हुने बताए । त्यसका लागि तमानखोलाले पर्यटन प्रवद्र्दनात्मक कार्यक्रम सञ्चालन गरेको भन्दै महासंघको सहकार्य पनि त्यसको उदाहरण भएको बताए ।

गाउँपालिकाले वडा नं. ४ को सोलेडाँडा र वडा नं. २ को बराह तालमा पुर्वाधार निर्माण गरेको, पर्यटक पुग्दा बस्ने स्थान बनाएको छ । त्यस बाहेक सोलेमा सहिदपार्क, पानी पोखरी लगायतका संरचना बनाएपछि म्याग्दी र बागलुङका धेरै मानिस घुम्न आउन थालेका छन् ।

बराह तालमा सिद्द बराहको मन्दिर, ताल घेरावार र शौचालय समेत बनाएर आएका पर्यटकलाई सहज बसाई, घुमाइ गर्ने वातावरण बनाइएको छ ।

अहिले सडक सञ्जालले पनि दुवै गन्तव्य जोडिएका छन् । त्यस बाहेक तमानगाउँलाई होमस्टे मोडलमा विकास गरिने, यहाँको संस्कृतिलाई प्रचार गर्ने, नोडल्ले लगायतका पहाडलाई जडिवुटीको क्षेत्र बनाउने, पदमार्गमार्फत साहसिक यात्रा गर्ने वातावरण सिर्जना गर्ने काम पनि भैरहेको स्थानीयले बताए ।

पर्यटन गोष्ठीमा वडा नं. १ का अध्यक्ष थमबहादुर रोका, वडा नं. २ का अध्यक्ष नारायण सुनार, वडा नं. ३ का अध्यक्ष झकबहादुर बुढा र वडा नं. ४ का अध्यक्ष छप्रसाद श्रीपालीले सबै क्षेत्रको सहकार्यबाट अगाडि बढ्ने बताए ।

वडा नं. ५ का अध्यक्ष हिराबहादुर श्रीर्पाली र वडा नं. ६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले पदमार्गसँगै स्थानीय कृषि क्षेत्रको विकास गर्ने, गाउँमा शिक्षा स्वास्थ्यको विकास गर्ने जस्ता काममा पनि साथ दिने र स्वास्थ्यलाई प्रभावकारी बनाउन सकेमा नागरिकहरु पर्यटनका क्रियाकलापमा लाग्न सक्ने धारणा राखे ।

कार्यक्रममा महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले लेखन, अडियो, भिडियो र सञ्चारका माध्यमबाट पर्यटन प्रवद्र्दनमा गाउँपालिकालाई साथ दिने बताए । महासंघका अध्यक्ष राम थापा ‘अबिरल’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का अध्यक्ष छप्रसाद श्रीपालीको स्वागत र महासंघका सचिव नारायण रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महासंघका सदस्य संगम घर्ती मगरले पर्यटन प्रवद्वैन सम्बन्धि अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.