काठमाडौं — हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयसँगै विद्यालयहरूका लागि नयाँ कार्यतालिका लागू गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ देखि लागू हुने गरी पठनपाठन व्यवस्थापनसम्बन्धी नयाँ निर्देशन जारी गरेको हो।
मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार विद्यालयमा पनि दुई दिन बिदा दिने व्यवस्था गरिएको थियो। सोही निर्णय कार्यान्वयनका लागि केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह तथा सबै विद्यालयलाई परिपत्र जारी गर्दै कार्यघण्टा समायोजन गर्न आग्रह गरेको छ।
नयाँ व्यवस्थाअनुसार विद्यालयहरूले अब स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलाएर पठनपाठन सञ्चालन गर्नुपर्नेछ। दैनिक कार्यक्रमअन्तर्गत १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय अनिवार्य गरिएको छ भने सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्नेछ।
यसैगरी, हिउँदे र बर्से बिदा घटाएर ४५ दिनबाट ३० दिनमा झारिएको छ। शैक्षिक सत्रको अन्तिम १२ दिन भने अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि छुट्याइएको छ।
विद्यार्थीको व्यवहारिक तथा परियोजना आधारित सिकाइलाई जोड दिन प्रत्येक शुक्रबार समुदाय र परिवारसँग सम्बन्धित क्रियाकलाप, सूचना प्रविधिको प्रयोग तथा बहुविषयगत परियोजना कार्य गराउने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार विद्यार्थीलाई प्रस्तुति गर्ने अवसर पनि दिइनेछ।
परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ बाट सहयोग लिन सकिने जनाइएको छ।
सरकारको यो निर्णयले विद्यालय शिक्षा प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र व्यवहारिक बनाउने अपेक्षा गरिएको छ।
शैक्षिक सत्र २०८३ देखि विद्यालयमा दुई दिन बिदा, पढाइ तालिका परिवर्तन


