Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोट नगरका अधिकांश गौरवका योजना रोकिए, जनगुनासो बढ्दो

Advertisement

Advertisement

बागलुङ/गलकोट — गलकोट नगरपालिकाले घोषणा गरेका ‘गौरवका योजना’ वर्षैपिच्छे बजेट अभावमा अधुरै रोकिँदा स्थानीय स्तरमा निराशा बढेको छ। नगरप्रमुख भरत शर्मा गैरेले पहिलोपटक निर्वाचित हुँदा महत्वपूर्ण विकास परियोजनालाई प्राथमिकता दिने बताएका भए पनि अधिकांश कामले निरन्तरता पाउन सकेका छैनन्।

प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा प्रति योजना एक–एक करोड रुपैयाँ खर्च हुने प्रतिबद्धतासहित सुरु गरिएका योजना समयमै बजेट नआएपछि सडक–पूर्वाधार नै कमजोर बन्दै गएको स्थानीयको गुनासो छ।

निलुवा जाने सडक वर्षौँदेखि अलपत्र

वडा नं. ४ को डाँडाखेत–खरुवा–चमुवा हुँदै निलुवा जोड्ने सडकको केवल एक किलोमिटर कालोपत्रे भएपछि काम रोकिएको छ। गत दशैँअघि गरिएको मर्मत पनि टिक्न नसक्दा अहिले सडकमा यति धेरै खाल्डाखुल्डी छन् कि सवारीसाधन नै गुड्न नसक्ने अवस्था बनेको स्थानीयले बताएका छन्।

रिघा–पाण्डवखानी–रणसिङ्किटेनी जोड्ने लक्ष्य पनि अधुरो

वडा नं. ९ को लोकमार्गदेखि रिघा, सिसाखानी, पाण्डवखानी हुँदै रणसिङ्किटेनीसम्म जोड्ने लक्ष्यासहित बनेको सडक तीन खण्डमध्ये एक खण्ड मात्र स्तरोन्नति भएर रोकिएको छ। दशकअघि ट्रयाक खुले पनि अहिले पनि सिधा यातायात पुग्न नसक्दा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ।

रिघालाई पर्यटकीय गन्तव्य बनाउने योजना पनि बजेट नआएपछि थन्किएको वडा अध्यक्ष डम्मर श्रीषले बताए। बौद्ध गुम्बा पुग्ने उद्देश्यले आउने धेरै यात्रु साँघुरो र भीरालो बाटोका कारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

११ वडाका ‘गौरवका योजना’ मध्ये पूरा केवल एक

नगरपालिकाले सबै वडाका लागि ५०–६५ लाख रुपैयाँ दरका एउटा–एउटा ‘वडा गौरवका योजना’ छाने पनि वडा नं. २ को सभा हल बाहेक अन्य सबै काम अधुरै छन्।
कसैको बाटो बन्द, कसैको स्तरोन्नति रोकियो, चक्रपथ, नगर बस सञ्चालन, सहश्रधारा–घुम्टे पर्यटन योजना जस्ता परियोजना कागजमै सीमित छन्।

नगरप्रमुखको भनाइ : श्रोत कमजोर, काम पुगेको ठाउँमा राम्रो

नगरप्रमुख भरत शर्मा गैरेले आन्तरिक श्रोत कमजोर भएकाले निरन्तर बजेट विनियोजन गर्न नसकिएको बताए।
“निलुवा पुरै नपुगे पनि वडा कार्यालयसम्म स्तरीय सडक पुगेको छ,” उनले बताए, “बाँकी योजनामा प्रदेश र संघीय बजेट ल्याउन पहल भइरहेको छ।”

स्थानीयको टिप्पणी

सार्वजनिक सुनुवाइमा स्थानीयले नगर नेतृत्वले विकासलाई निरन्तरता नदिएको आरोप लगाएका थिए।
स्थानीय दलसिंह खत्रीले प्रशासनिक भवन छिटो निर्माण गरी भाडामा खर्च हुने रकम बचत गर्नुपर्ने सुझाव दिए।

यता, दरमखोला क्षेत्रमा विद्युत आयोजना बनेपछि सिंचाइमा असर परेको तथा माछा चोरी र करेन्ट प्रयोग बढेको विषयमा स्थानीय कौशिला घर्तीले चिन्ता व्यक्त गरिन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.