काठमाडौँ – नेपाल सरकारले भारतीय ठूला दरका नोट ल्याउन–लैजान लगाइएको प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल ल्याउन तथा लैजान पाउने व्यवस्था गरेको हो।
सरकारको निर्णयबारे जानकारी दिँदै सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका भारतीय नोटमात्र नेपालमा चलनचल्तीमा ल्याउन पाइने स्पष्ट पारे। उनका अनुसार नेपाली तथा भारतीय नागरिक दुवैले प्रतिव्यक्ति २५ हजार भारुसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउनेछन्।
यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै नेपाल–भारतबीच ठूला दरका नोट ल्याउन–लैजान पाउने व्यवस्था गरेको थियो। भारतले व्यवस्था खुला गरेपछि नेपाल सरकारले पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
भारतले सन् २०१६ मा ५ सय र १ हजार दरका नोटको नोटबन्दी गरेपछि नेपालमा ठूला दरका भारु नोट ल्याउन–लैजान रोक लगाइएको थियो। सो समयमा नेपालमा रहेका ठूला दरका भारतीय नोट सटही नहुँदा समस्या उत्पन्न भएको थियो। तथ्याङ्कअनुसार त्यतिबेला नेपाली बैंकिङ प्रणालीमा करिब ५ करोड भारतीय रुपैयाँ बराबरका नोट सटही हुन बाँकी रहेका छन्।
खुला सीमा, व्यापार तथा आवतजावतमा भारतसँगको निर्भरतालाई मध्यनजर गर्दै दुवै देशबीच भारतीय ठूला दरका नोट ल्याउन–लैजान सहज बनाइएको सरकारको भनाइ छ।


