
लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै देशको उत्तरी सहर पोर्टोमा दुई दिने विशेष घुम्ती शिविर सम्पन्न गरेको छ । राजधानी लिस्बनबाट टाढा टाढा रहेका र व्यस्तताका कारण दूतावाससम्म धाउन नसक्ने बाध्यतालाई मध्यनजर गर्दै, दूतावासले यही जनवरी २४ र २५ तारिखमा यो शिविर सञ्चालन गरेको थियो ।
दूतावासको टोलीले पोर्टोको भिला नोभा दि गाईयास्थित ‘नमस्ते पोर्टो’ रेस्टुरेन्टमा क्याम्प गरी सेवा प्रवाह गरेको थियो । काउन्सिलर शत्रुध्वन पोखरेलको नेतृत्वमा खटिएको उक्त टोलीमा सचिब अनिल राणा लगायतका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । टोलीले बिदाको दिनको परवाह नगरी दुई दिनसम्म लगातार खटिएर राहादानि सेवाहरू प्रदान गर्यो । सेवा लिन आएका नेपालीहरूले आफ्नै सहरमा दूतावासको टोलीलाई पाउँदा खुसी व्यक्त गरेका पनि थिए ।
शिविरको उपलब्धिका विषयमा जानकारी दिँदै दूतावासका सचिब रामबाबु नेपालले यसपटक कुल ८५ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएको बताउनुभयो । उहाँका अनुसार शिविर अवधिभर ५० जनाले राहदानी नवीकरणका लागि आवेदन दिएका छन् भने १५ जनालाई पहिले नै तयार भइसकेका राहदानीहरू सोही स्थानमा वितरण गरिएको छ । यसका साथै, २० जना सेवाग्राहीहरूको प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लगायत अन्य विभिन्न महत्त्वपूर्ण कागजातहरूको प्रमाणीकरण पनि शिविरबाटै सम्पन्न भयको थियो ।
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना भएयता नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गरेको यो तेस्रो पटक हो उहाले बताउनु भयो ।। लिस्बन बाहिर रहेका नेपालीहरूको बाक्लो उपस्थिति भएका क्षेत्रहरूलाई लक्षित गर्दै दूतावासले यसअघि पनि पोर्चुगलको फारो सहर र मदेइरा टापुको फुन्चालमा यस्तै प्रकारका घुम्ती शिविरहरू सञ्चालन गरियको थियो । दूतावासको यस्तो सक्रियताले प्रवासमा रहेका हरेक नेपालीहरूलाई समय र खर्चको बचत हुनुका साथै ठूलो राहत मिलेको छ र नेपालि नागरिकोको लागि राहादानि नबिकरणको झन्झट सहज भयको छ ।


