काठमाडौँ – देशभर आगामी दुई दिन मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भोलि देशका सबै पहाडी तथा हिमाली भेगका अधिकांश स्थान र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
यस्तै पर्सि कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र हिमाली भेगका थोरै स्थानमा हावाहुरी र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली भई वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
पश्चिमी वायुको प्रभाव: देशका धेरै ठाउँमा वर्षा, चट्याङ र हिमपात हुने


