
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ। लामिछानेले यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका भए पनि प्रक्रिया अघि बढेको थिएन।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार आज नै उनको सरुवा सम्बन्धी निर्णय गरेर रुपन्देही पठाइएको छ। ‘उहाँको मञ्जुरीनामामा नै नक्खु कारागार माग गर्नुभएको थियो, सोही अनुसार निर्णय गरेर पठाएका हौं,’ शर्माले अनलाइनखबरसँग भने।
हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेलाई नक्खु ल्याउने काम रुपन्देही कारागार, त्यहाँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय र प्रशासनमार्फत अघि बढाइने विभागले जनाएको छ।
गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेको कारागार सरुवा प्रक्रिया भइरहेको बताएका थिए।
शर्मा हालै गृह मन्त्रालयबाट सरुवा भई कारागार विभागको नेतृत्व सम्हालेका हुन्। यसअघि यो पदमा रहेका नारायण प्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरिएको थियो।


