Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गाजामा अनिकालको घोषणा गरियो

Advertisement

Advertisement

संयुक्त राष्ट्रसंघले गाजामा भयानक भोकमरी र कुपोषणका कारण शुक्रबार औपचारिक रूपमा अनिकाल (Famine) घोषणा गरेको छ।

राष्ट्रसंघीय संयन्त्र इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (IPC) को आकलनअनुसार गाजामा अनिकालको अवस्था पुगेको प्रमाणित भएको हो। प्रतिवेदनअनुसार करिब १० लाख जनसङ्ख्या रहेको गाजामा आधाभन्दा बढी, अर्थात् पाँच लाखभन्दा बढी नागरिक, अहिले चरम खाद्यान्न अभाव, भोकमरी र मृत्युको भयावह स्थितिमा छन्।

राष्ट्रसंघको आरोप, इजरायलको अस्वीकार

राष्ट्रसंघका उच्च अधिकारीहरूले गाजामा राहत सामग्री प्रवेशमा इजरायलले ‘सुनियोजित अवरोध’ गरेको आरोप लगाएका छन्। यसैका कारण युद्धग्रस्त क्षेत्रमा खाद्यान्न, औषधि र इन्धन आपूर्ति ठप्प भएको र अवस्था अझ बिग्रिएको उनीहरूको भनाइ छ।
तर, इजरायलले भने राष्ट्रसंघको दाबीलाई अस्वीकार गर्दै “गाजामा अनिकाल भएको प्रचार हमासको झुटमा आधारित” भएको दाबी गरेको छ।

गम्भीर संकेत

आईपीसीको परिभाषाअनुसार २० प्रतिशतभन्दा बढी परिवारमा खाद्यान्नको चरम कमी, पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिकामा कुपोषण र प्रत्येक १० हजार जनामध्ये दुई जनाको दैनिक भोकमरी वा रोगका कारण मृत्यु हुने अवस्था देखिएपछि मात्र अनिकाल घोषणा हुन्छ। गाजामा यी सबै अवस्था पुगेको प्रमाणित भएको प्रतिवेदनमा उल्लेख छ।
विशेषगरी बालबालिकामा असर गम्भीर रहेको छ। युनिसेफका अनुसार जुलाई महिनामा मात्रै १२ हजारभन्दा बढी बालबालिका कुपोषित भएका छन्।

अझै बढ्ने संकट

आईपीसीले सेप्टेम्बरको अन्त्यसम्ममा गाजाको देइर अल–बालाह र खान युनिस क्षेत्रमा समेत अनिकाल फैलिने अनुमान गरेको छ, जसले कुल जनसङ्ख्याको तीन चौथाइभन्दा बढी अर्थात् करिब ६ लाख ४० हजार मानिसलाई असर पुर्‍याउनेछ।

युद्ध अपराधको चेतावनी

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर तुर्कले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध भएको चेतावनी दिएका छन्। आपत्कालीन राहत संयोजक टम फ्लेचरले भने गाजामा सहायता सामग्री सीमामा थुप्रिँदै प्रवेशमा रोक लगाइएको बताएका छन्।

महासचिवको आह्वान

महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा तत्काल युद्धविराम गर्न, इजरायलबाट हमासले बन्धक बनाएका सबैलाई मुक्त गर्न र मानवीय सहायता पूर्ण रूपमा खोल्न आह्वान गरेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.