
काठमाडौं । विगत ६ दिनदेखि काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटाइएको छ।
भदौ २४ गतेदेखि नेपाली सेनाले सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युबारे जानकारी दिँदै आएको भए पनि आज कुनै निकायले नयाँ सूचना जारी नगरेपछि स्वतः निषेधाज्ञा अन्त्य भएको जनाइएको छ।
कर्फ्यु र निषेधाज्ञा हटेसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ। सडकमा सवारी साधनको चाप बढ्न थालेको छ भने व्यवसायिक गतिविधि पनि नियमित ढंगले सञ्चालन हुन थालेका छन्।
जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले उपत्यकासहित देशका केही जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो।
यस्तै, जेनजी आन्दोलनको भावनाअनुरूप गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुक सामान्य अवस्थातर्फ फर्किरहेको देखिएको छ।


