दक्षिण कोरियामा लगातार परेको मुसलधारे वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन्।
दक्षिण कोरियाको राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयले दिएको पछिल्लो विवरण अनुसार धेरैजसो क्षति देशको दक्षिणी तथा मध्य भूभागमा भएको हो। पहिरो र बाढीले सडक तथा रेलवे सेवा अवरुद्ध बनाएको छ भने सयौँ घरपरिवार विस्थापित भएका छन्।
सरकारले उद्धार कार्य तीव्र बनाएको जनाएको छ। बाढी प्रभावित क्षेत्रहरूमा आपतकालीन सहायता, उद्धार टोली र हेलिकप्टर प्रयोग गरिएका छन्। सेना पनि उद्दार कार्यमा सक्रिय रूपमा सहभागी भएको छ। मौसम विभागले आगामी दिनहरूमा पनि भारी वर्षाको सम्भावना रहेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ।
जनधनको क्षति अझ बढ्न सक्ने अनुमान
बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। कतिपय क्षेत्रहरूमा सम्पर्कविहीन अवस्थामा रहेकाले वास्तविक क्षतिको आँकडा अझै स्पष्ट भइसकेको छैन।
स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा सारिँदै छन् भने बाढीका कारण विद्युतीय आपूर्ति, यातायात र सञ्चार सेवामा अवरोध आएको छ।


