
देशभर आज वैदिक परम्पराअनुसार नागदेवताको पूजा–अर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार नागको पूजाले सर्प, बिच्छी, चट्याङ र मेघका कारण हुने संकटबाट बच्न सकिन्छ। साथै, नागदेवता प्रसन्न भएमा वर्षा राम्रो हुने र उब्जनीमा वृद्धि हुने विश्वास गरिन्छ।
नागलाई सर्पको राजा मान्ने वैदिक मान्यता छ। बराहपुराणमा उल्लेख भएअनुसार आजकै दिन ब्रह्मा र नागराजबीच संवाद भएको मानिन्छ, जसका कारण नागपञ्चमीको विशेष महत्त्व रहेको धार्मिक विश्वास पाइन्छ।
आजको दिन विशेषगरी अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाम भएका आठ कूलनागहरूलाई पूजाआजा गर्ने चलन छ। ब्राह्मण पुरोहितमार्फत विधिपूर्वक पूजाआजा गरी ती नागका चित्रहरू घरको ढोकामाथि टाँसिन्छ।
नागपञ्चमीको दिनलाई प्रकृति र जीव–जन्तुप्रतिको सम्मानको दिनको रूपमा पनि लिइन्छ। यही कारण आजको दिन खनजोत गर्न नहुने, नाग वा सर्पजस्ता जीव मार्न नहुने मान्यता प्रचलनमा छ।
काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी, ललितपुर र अन्य जिल्लाका नागदह तथा कुण्डहरूमा विशेष पूजाआजा गरिँदैछ। पूजा स्थलहरूमा गाईको दूध, दुबो, अक्षता, खीर, रोटी लगायतका परिकार चढाइन्छ।
वैज्ञानिक दृष्टिले पनि सर्प जातिले विषालु पदार्थ शोषण गरेर पर्यावरण सन्तुलनमा महत्त्वपूर्ण योगदान दिने पुष्टि भएपछि ऋषिमुनिले नागको पूजा गर्ने परम्परा सुरु गरेको मानिन्छ।
नागपञ्चमीसँगै चाडपर्वको मौसमको सुरुवात हुने धार्मिक विश्वास पनि रहेको छ।


