
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि एकपटक नयाँ स्वरूपको क्रान्ति र विद्रोह अपरिहार्य बन्दै गएको बताएका छन्।
शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति दिवस कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र तीव्र बन्दै गएको भन्दै त्यसको प्रतिवादका लागि जनस्तरमा एकता आवश्यक भएको धारणा राखे।
उनले भने, “हामी फेरि बल बटुल्दैछौं, वर्गसँग पुनः सम्बन्ध गाँस्दैछौं। जनयुद्धदेखि संविधानसभासम्मको यात्रा र नेतृत्वको भूमिकाले मलाई फेरि क्रान्तिको बाटोतर्फ उन्मुख गराएको छ।”
शान्ति प्रक्रियाका बाँकी विषयहरूबारे पनि उनले विचार व्यक्त गरे। प्रक्रिया अगाडि बढिरहेको भए तापनि त्यसमा निरन्तर चलखेल भइरहेको उनको आरोप छ। “कुरा अघि बढेको देखिन्छ तर चलखेल अझै बाँकी छन्,” उनले भने, “यदि हामी एक ठाउँमा उभिन सकेनौं भने फेरि संकटमा पर्ने खतरा रहन्छ।”
शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय हितविरुद्ध गतिविधि गर्ने शक्तिहरूको सामना गर्न संगठित आन्दोलन अपरिहार्य रहेको धारणा राखे। उनले जनतामाझ दृढ संकल्प र ऐक्यबद्धता जरुरी भएको उल्लेख गरे।
त्यसैगरी, उनले ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्नु पर्नेमा जोड दिए। “यो कुनै सामान्य कार्यक्रम होइन, राष्ट्रिय आन्दोलन थियो। त्यसैले अदालतमा मुद्दा बनाउनुको तुक छैन,” भन्दै उनले जनयुद्ध दिवसलाई राष्ट्रिय पहिचानको रूपमा आत्मसात गर्नुपर्ने बताए।


