विराटनगर, साउन १९ – प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिरबाट तीर्थयात्रा सकेर फर्किँदै गरेका यात्रु सवार गाडी सोमबार बिहान खोटाङमा दुर्घटनामा परेको छ। दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघाट नजिकै दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार गाडीमा चालकसहित १८ जना सवार थिए। उनीहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए।
हलेसी दर्शनपछि सिराहातर्फ फर्किँदै गरेको उक्त गाडी तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि गाडी चालक फरार रहेका छन्। प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र पारिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेहरूलाई तत्काल स्थानीयवासीको सहयोगमा उद्धार गरी घुर्मी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ।
थप बिबरण अाउन बाँकि ।


