
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको सरकारी भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किँदैछन्।
साउन १८ गते राति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तुर्कमेनिस्तान गएका थिए।
अगस्ट ५ देखि ८ तारिखसम्म अवाजा शहरमा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओलीले विभिन्न औपचारिक कार्यक्रमहरूमा भाग लिएका थिए। सम्मेलनमा उनले नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको तर्फबाट सम्बोधन गरेका थिए।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका वरिष्ठ पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए।
उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राईसहित सरकारी अधिकारी, मिडियाकर्मी र सुरक्षाकर्मी सम्मिलित थिए।
प्रधानमन्त्री ओली आज राति काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ।


