नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय सचिव टेक पुन मगरले सामाजिक सञ्जालमार्फत देशको वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै परम्परागत दलप्रति कठोर टिप्पणी गरेका छन्।
उहाँले लामो समयदेखि नेपाली राजनीतिको असफलताले नयाँ पुस्तामा वैकल्पिक सोच जन्माएको उल्लेख गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायत दलहरूको “ज्यादती र जनविरोधी गतिविधि”कै कारण नयाँ दल र आन्दोलनहरूको उदय भएको दाबी गर्नुभयो।
फेसबुकमार्फत धारणा व्यक्त गर्दै मगरले भनेका छन्,
“नेपाली काँग्रेसको ज्यादतीकै कारण माओवादी पार्टी जन्मियो। एमाले र काँग्रेसको अत्याचारकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो। सञ्चारमन्त्री गुरुङको बौलाहा निर्णयकै कारण नयाँ पुस्ताको आन्दोलन जन्मियो। परिणामस्वरूप आफूलाई महान् ठान्ने नेताहरूको टाउको फुटबलजस्तै बनेको छ।”
उहाँले वर्तमान पुस्ता पुराना दलका नेताले बोकेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मार्क्सवाद, लेनिनवाद वा साम्यवादजस्ता आयातित सिद्धान्त भन्दा भिन्न बाटो रोज्ने विश्वास व्यक्त गर्दै नयाँ पुस्ताले ‘नेपालवाद’लाई मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार्ने बताएका छन्।
नेताहरूलाई सचेत गराउँदै मगरले भनेका छन्, “अब नेताज्यूहरूले सुध्रिनै पर्छ। नयाँ पुस्ता तिम्रो आयातित घोकन्टे सिद्धान्त होइन, नेपालवादलाई अँगाल्नेछन्।”
मगरको यो अभिव्यक्ति सामाजिक सञ्जालमा विभिन्न तह–तप्कामा व्यापक रूपमा चर्चित भएको छ। कतिपयले यसलाई पुराना दलप्रति आक्रोश र नयाँ पुस्ताको दिशातर्फको सङ्केतका रूपमा लिएका छन्।


