Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

भारतबाट पक्राउ परेका ढोरपाटन नगरप्रमुखमाथि अब सम्पत्ति शुद्धीकरण मुद्दा पनि

Advertisement

Advertisement

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।

बागलुङ जिल्ला सरकारी वकिलको कार्यालयले रु. १ अर्ब ५८ करोड रुपैयाँको विगो मागदाबी सहित शुक्रबार जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरेको हो। नेपालीमाथि बागलुङको इमेज सहकारी संस्थामा रहेका रकम हिनामिना गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप छ।

उनीसँगै उनकी श्रीमती छेला नेपाली विरुद्ध पनि रु. ६ करोड ९८ लाख रुपैयाँ विगो मागदाबी सहित मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो।

यसअघि नेपालीमाथि सहकारी ठगीको मुद्दा मात्रै दायर गरिएको थियो। तर, सोही मुद्दालाई आधार मानेर अहिले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम नयाँ मुद्दा दर्ता गरिएको हो।

सहकारी ठगी प्रकरणमा प्रहरीको प्रतिवेदनमा नेपालीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका तीनवटै मुद्दा चलाउन सिफारिस गरिएको थियो। तर प्रारम्भिक चरणमा सहकारी ठगीको मात्र मुद्दा चलाइएको थियो।

नगरप्रमुख नेपाली असोज ११, २०८१ मा भारतमा पक्राउ परेका थिए। उनलाई नेपाल ल्याइएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो। तर, श्रीमती छेला नेपाली अझै फरार रहेको प्रहरीले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १७ जनामाथि छानबिन गरी तयार पारेको प्रतिवेदनमा नेपाली दम्पतीले गैरकानूनी स्रोतबाट सम्पत्ति आर्जन गरेको ठहर गरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.