बागलुङ । गण्डकी प्रदेशमा सवारी चोरी हुने क्रम बढ्दो छ तर भेट्टिने दर भने निकै न्यून रहेको छ । गत आर्थिक वर्षमा प्रदेशभर २ वटा चारपाङ्ग्रे र ६५ वटा दुइपाङ्ग्रे सवारी चोरी भएका मध्ये अहिले सम्म जम्मा १७ वटा मात्र फेला परेका छन् । हराएका मध्ये १ चारपाङ्ग्रे र १६ दुइपाङ्ग्रे सवारी फेला परे भने ४८ वटा अझै हराएको सूचीमै छन् ।
चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको भए पनि एउटा पनि फेला परेको छैन । चोरीका अधिकांश घटना राति र घर वा पार्किङ स्थलमै भएका छन् ।
२०८१ माघ ११ गते कुश्मा नगरपालिका–५ पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका–३ गुठीस्थित पार्किङ स्थानबाट चोरी भएको थियो । उनले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिए पनि हालसम्म मोटरसाइकल भेट्टिएको छैन ।
त्यसैगरी बागलुङकै साजन आचार्यको मोटरसाइकल कालिका मन्दिर परिसरको पार्किङबाट चोरी भएको थियो । नवदुर्गा मेलाको समयमा पुजा गर्न पुगेका आचार्यको मोटरसाइकल चोरी हुँदै गरेको दृश्य सिसीटिभीमा समेत कैद भएको छ । उजुरी र सिसीटिभी फुटेजसहितको प्रमाण हुँदाहुँदै पनि मोटरसाइकल अझै भेटिएको छैन ।
प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी सवारी चोरी हुने गरेको प्रहरीले जनाएको छ । त्यसपछि नवलपुर र बागलुङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
गत आर्थिक वर्षमा कास्कीमा १ चारपाङ्ग्रे र ४१ दुइपाङ्ग्रे सवारी चोरी भएका थिए । जसमध्ये १५ वटा फेला परे भने २७ वटा अझै हराएका छन् । चालु आर्थिक वर्षमा भने कास्कीमा हालसम्म नयाँ उजुरी परेको छैन ।
नवलपुरमा गत वर्ष १६ दुइपाङ्ग्रे सवारी चोरी भएका थिए, तर अहिलेसम्म एउटा पनि फेला परेको छैन । यस आर्थिक वर्षमा पनि नवलपुरबाट एकवटा सवारी हराएको उजुरी परेको छ ।
बागलुङमा गत वर्ष १ चारपाङ्ग्रे र ३ दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । जसमध्ये १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला परेका छन् भने बाँकी ३ दुइपाङ्ग्रे अहिले पनि हराएको सूचीमै छन् ।
तनहुँमा २ र म्याग्दीमा १ दुइपाङ्ग्रे सवारी हराएका छन्, तर दुवै जिल्लामा अहिलेसम्म कुनै सवारी फेला परेको छैन ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीका अनुसार भेट्टिएका सवारीसाधन अधिकांश अवस्थामा व्यवारिसे अवस्थामा फेला परेका हुन् ।
“सवारी हराएको वा चोरी भएको जानकारी प्राप्त भएपछि हामी संवेदनशील भएर खोजतलास गर्छौं, तर धेरैजसोमा चोरी गर्ने व्यक्ति पत्ता लाग्न सकेका छैनन्,” — उपरिक्षक भारतीले बताउनुभयो ।


