
आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको सुपर सिक्स चरणमा नेपालले कतारमाथि विजयी नतिजा निकालेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेले पाँच विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बन्न सफल भए।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १४२ रनमै समेटिँदा सन्दीपले आफ्नो जादुई बलिङ प्रदर्शन गरे।
उनले खेलपछि भने,“जब–जब मेरो देश र टिमलाई मेरो आवश्यकता पर्छ, म सधैं मैदानमा हुनेछु।”
पहिलो विकेटका लागि कतारले नौ ओभरसम्म बलियो साझेदारी बनाएको थियो। तर, दशौँ ओभरमा आक्रमणमा आएका सन्दीपले ७९ रनको साझेदारी तोड्दै खेल नेपालको पक्षमा फर्काए। त्यसपछि नेपालले खेलमा नियन्त्रण कायम राख्दै जीत सुनिश्चित गर्यो।
सन्दीपका अनुसार खेलको निर्णायक क्षण त्यहीँबाट सुरु भएको थियो।
उनले थपे,
“वास्तविक खेल दशौँ ओभरपछि सुरु भयो। हाम्रो टिमका सबै खेलाडीहरू उत्साहित र समर्पित छन्। दिपेन्द्र र आदिलले उत्कृष्ट फिल्डिङ गरेर रनआउट निकाले, नन्दनले पनि शानदार बलिङ गर्यो। सबैले आफ्नो १०० प्रतिशत दिएका छन्।”
सन्दीपले टोलीको मानसिक बल र तयारीलाई नेपालको सफलता पछाडिको मुख्य कारण बताउँदै भने,
“विश्वकपमा निरन्तर खेल्ने लक्ष्य हाम्रो छ। हामीले १० वर्षमा दोस्रो पटक विश्वकप खेलेका थियौँ, तर अब हरेक संस्करणमा खेल्ने चाहना सबैमा छ। टिममा त्यसका लागि आवश्यक भोक र तयारी दुवै छ।”


