
सुरेश छन्त्याल / गलकोट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गलकोट नगरपालिका–१० पाण्डबखानीको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशन तथर्थ समिति सभापति यामलाल वुढाको सभापतित्व र गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमान्द पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
अधिवेशनले याम वुढाको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ। समितिमा उपसभापति तिल श्रीस, सचिव उत्तम काउचा, कोषाध्यक्ष यामुना पुन, तथा सदस्यहरूमा मनिषा विकसहित अन्य आठ जना रहेका छन्।
कार्यक्रमको सुरुमा रास्वापा सदस्य टेकबहादुर पुनले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा बडिगाड गाउँपालिकाका सभापति रमेश घिमिरे, जैमुनि नगरपालिकाका सभापति राजेन्द्र शर्मा, गलकोट नगर सभापति राजेन्द्र पुन, सुनिता विसी, ढालेन्द्र रायमाझीलगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले पार्टीको संगठन विस्तार, स्थानीय तहमा प्रभावकारी उपस्थिति र जनमुखी राजनीति स्थापनाको आवश्यकता औंल्याए। उनीहरूले रास्वापाको नीति जनसरोकारका मुद्दामा केन्द्रित रहेको बताउँदै नयाँ पुस्ताले नेतृत्व लिने अवसरका रूपमा अधिवेशनलाई महत्व दिए।
प्रमुख अतिथि खिमान्द पौड्यालले आफ्नो मन्तव्यमा पार्टी संगठनलाई वडा तहबाटै बलियो बनाउन, सदस्य विस्तारमा गति दिन र स्थानीय तहमा विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले रास्वापा केवल राजनीतिक आन्दोलन नभई, समुदाय सेवा, विकास र जनकल्याणका कार्यमा समेत समर्पित संगठन भएको उल्लेख गर्नुभयो।
कार्यक्रमको सञ्चालन सालिग्राम गौतमले गर्नुभएको थियो।


