Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

आज भाइटीका : दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी टीका लगाउँदै दीर्घायुको कामना

Advertisement

Advertisement

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देशभर श्रद्धा, आस्था र हर्षोल्लासका साथ मनाइँदैछ।

आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा र उपहार प्रदान गर्ने परम्परा रहिआएको छ। शास्त्रीय मान्यताअनुसार दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। यद्यपि, समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन। तर, राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा समितिले उल्लेख गरेको छ।

यो वर्ष तिथि वृद्धि भई तिहारको छैटौं दिनमा भाइटीका परेको समितिले जनाएको छ। सामान्यतया तिहार पाँच दिनको भए पनि यसपालि यमपञ्चक लामो भएको हो।

टीका लगाउँदा कता फर्किने ?

भाइटीका दिवसलाई यमद्वितीया पनि भनिन्छ। यस दिन टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ। यस्तो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने र शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम पुरा हुने विश्वास छ।

पूजा विधि र परम्परा

आज लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा अष्ट चिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) तथा चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपति र नवग्रह लगायतका देवताको पूजा गर्ने चलन छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने, मखमली, सयपत्री वा गोदावरीका माला पहिर्याइदिने र आशीर्वाद दिने परम्परा रहिआएको छ।

सप्तरंगी होइन, पञ्चरंगी टीका

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचार भए पनि शास्त्रीय मान्यता अनुसार भाइटीकामा पञ्चरंगी टीका लगाउनुपर्छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् देवमणि भट्टराईका अनुसार भाइटीकाको टीकामा रातो, सेतो, पहेंलो, हरियो र नीलो पाँच रंगको प्रयोग गर्नुपर्ने उल्लेख छ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी लगायतका परिकार प्रदान गर्छन् भने दाजुभाइले पनि गच्छेअनुसार कपडा, दक्षिणा र सौभाग्यका प्रतीक उपहार दिई सम्मान प्रकट गर्छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.