काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव आज साँझसम्म नेपालमा पर्ने भएको छ । हाल उक्त चक्रवात भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र त्यसको असर नेपालमा समेत देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार साँझतिर मौसममा क्रमिक सुधार हुने भए पनि हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायू र अरब सागरमा बनेको अर्को न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा परेको जनाएको छ ।
आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा साधारण बदली रहने विभागले जनाएको छ । ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
यसबाहेक कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी विभागले दिएको छ ।
त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात, र तीमध्ये केही ठाउँमा भारी हिमपात समेत हुने सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।


