काठमाडौं । नेपाल सरकारले एआईजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वका लागि चयन गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गर्दै २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेकाले त्यसअघि नै नयाँ आईजीपीको नियुक्ति गरिएको हो।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। २४ भदौको जेनजी आन्दोलनका क्रममा उनले उपत्यकाको कमाण्ड नेतृत्व गरेका थिए। त्यसअघि भने २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन भएको थियो।
मानव स्रोत साधन विभागको प्रमुखका रूपमा प्रहरी प्रधान कार्यालयमा सेवा देइ–डीआईजी हुँदा लुम्बिनी प्रदेशको कमाण्ड तथा एसएसपीका रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व सम्हालेका कार्की भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढिरहेको समयमा पनि चर्चामा आएका थिए।
काठमाडौंजस्तो चुनौतीपूर्ण जिल्लादेखि उपत्यकासम्मको कमाण्ड सम्हाल्दै आएका कार्की इमानदार, व्यावसायिक र अनुशासित प्रहरी अधिकृतको छवि बनाउन सफल अधिकारी मानिन्छन्।


