काठमाडौं ।
सत्तासाझेदार दल नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय सार्वजनिक गरेको दिनमै मुख्य विपक्षी एमालेले भने संसद् पुनःस्थापनाको माग कडाइका साथ दोहोर्याएको छ।
शनिबार काठमाडौंमा गरेको प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा अनुचित ढंगले विघटन गरिएको दाबी गर्दै “पुनःस्थापनाको विकल्प नै छैन” भन्ने अडान पुनः व्यक्त गरे।
ओलीका अनुसार संसद् पुनःस्थापित भएपछि सर्वदलीय सहमतिमा संविधान संशोधनसहितका मार्गचित्र अघि बढाउन सकिनेछ।
“संविधान संशोधन नभई धेरै कुरा समाधान हुँदैन भने सबैको सहमतिमा अघि बढौँ,” उनले भने, “पुनःस्थापित संसद्ले जेनजीका माग पूरा गर्ने बाटो खोल्छ र संविधान रक्षाको मार्गमा हामी अघि बढ्छौँ।”
अध्यक्ष ओलीले आगामी फागुन २१ गते निर्धारण गरिएको निर्वाचनको पनि कडा विरोध गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरे।
“अनधिकृत व्यक्तिको अराजकतामा आधारित सरकार चलिराखेको छ। यस्तो हुँदैन,” भन्दै उनले भने, “फागुन २१ गते चुनाव हुन्छ भन्छन्, त्यो गराउने अधिकार नै छैन।”
सभामा एमाले महासचिव शंकर पोखरेलले पनि विघटन भएको संसद् पुनःस्थापनामार्फतै मुलुकलाई लोकतान्त्रिक बाटोमा अघि बढाउन सकिने बताए। २०५८ मा विघटन भएको संसद् २०६३ मा पुनःस्थापित भएको उदाहरण स्मरण गर्दै उनले जननिर्वाचित संसद् नै सबै समस्याको वैधानिक समाधान केन्द्र भएको बताए।
यसैबीच, संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै एमाले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालत जाने तयारीमा रहेको समेत बताइएको छ।


