काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन्। उनका बुवा रामनारायण शाहको आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतहरूले पुष्टि गरेका छन्।
शाहलाई आइतबार बिहानै बेहोसी अवस्थामा अस्पताल पुर्याइएको थियो। चिकित्सकका अनुसार उनलाई करिब एक सातादेखि मधुमेहसम्बन्धी समस्या र पिसाब संक्रमणका कारण स्वास्थ्य जटिलता देखा परेको थियो। संक्रमण शरीरभरि फैलिँदै गएपछि उनको अवस्था झनै गम्भीर बन्दै गएको चिकित्सकले बताए।
एक चिकित्सकले अनलाइनखबरसँग भने,
“एक हप्तादेखि बिरामी हुनुहुन्थ्यो। मधुमेह र पिसाबको संक्रमण थियो। बेहोसीमै अस्पताल ल्याइँदा उहाँको अवस्था अत्यन्तै गम्भीर थियो।”
बिरामी अवस्थाको सूचनापछि प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान सिभिल अस्पताल पुगेकी थिइन्। उनले मेयर शाहलाई भेटेर सांत्वना व्यक्त गरेकी थिइन् र अस्पतालमा भेन्टिलेटरमा रहेका अन्य बिरामीहरूको अवस्थाबारे पनि जानकारी लिएकी थिइन्।
रामनारायण शाहको निधनसँगै मेयर शाहको परिवार शोकमा डुबेको छ। विभिन्न क्षेत्र तथा व्यक्तिहरूबाट सामाजिक सञ्जालमार्फत समवेदना र श्रद्धाञ्जलि व्यक्त गरिएको छ।


