बागलुङ । नेपाली कांग्रेसबाट २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित टिकाकाउचाले पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।
बडिगाड गाउँपालिका वडा नं–५ ग्वालिचौरबाट नेपाली कांग्रेसको तर्फबाट निरन्तर दुई कार्यकालसम्म सम्मानित मतसहित वडा सदस्यमा निर्वाचित काउचाले स्वेच्छिक रूपमा पदबाट राजीनामा दिँदै रास्वपाको सदस्यता लिएको स्वघोषणा गर्नुभएको हो।
काउचाले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले पारदर्शी, उत्तरदायी र जनमुखी राजनीति गर्ने उद्देश्यले रास्वपामा आबद्ध भएको बताउनुभएको छ। उहाँको यो निर्णयलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
स्थानीय जानकारहरूका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पद त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको यो घटना सम्भवतः बागलुङ जिल्लामै पहिलो हुन सक्ने अनुमान गरिएको छ।
यस घटनाले आगामी दिनमा बडिगाड गाउँपालिकासहित जिल्लाको राजनीतिक समीकरणमा प्रभाव पार्ने देखिएको छ।


