
बागलुङ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। पुस २७ गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र जारी रहँदा निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी दर्ता र भोलि मतदान हुने कार्यक्रम तय गरिएको छ।
निर्वाचनमार्फत नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै समूहले प्यानलसहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। उम्मेदवारी दर्ताका लागि नेताहरू आ–आफ्नो तयारीमा जुटिरहेका छन्।
महाधिवेशनमा बागलुङबाट हालसम्म ८ जना केन्द्रीय सदस्य रहेका छन्। तीमध्ये एक जना सचिव पदका लागि र सात जना केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्ने भएका छन्। केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा सचिव पदमा उम्मेदवारी दिने तय भएको छ। सापकोटाले ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको जानकारी दिनुभएको छ।
यसैगरी, साविकका सात जना केन्द्रीय सदस्यहरू केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्ने सूची सार्वजनिक भएको छ। एमालेका वर्तमान पोलिटब्युरो सदस्य लिलबहादुर थापा मगर आदिवासी जनजाति समूहबाट तथा पोलिटब्युरो सदस्य मनकुमारी केसी जिसी खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।
त्यस्तै, डा. सूर्य पाठक र कृष्णबहादुर केसी खुलातर्फ, गोविन्दबहादुर नेपाली दलिततर्फ, सावित्रा राना आदिवासी जनजाति महिलातर्फ र मञ्जु शर्मा चालिसे गण्डकी भूगोलको महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने भएका छन्।
महासचिव पदमा केपी शर्मा ओली समूहबाट शंकर पोखरेल र ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।


