काठमाडौं ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया बुधबार रातभरि सञ्चालन हुने भएको छ । एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ ५ बजेर २ मिनेटसम्म ८०२ जना महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुमा प्रतिव्यक्ति २० देखि २५ मिनेटमा मतदान सकिने अनुमान गरिएको भए पनि व्यवहारमा अपेक्षाभन्दा बढी समय लागेको छ । ‘हामीले ८ देखि साढे ८ घण्टाभित्र मतदान सम्पन्न होला भन्ने सोचेका थियौँ, तर प्राविधिक जटिलता र नाम सूची हेरेर मत खसाल्नुपर्ने प्रक्रियाका कारण समय बढी लागेको हो,’ पोखरेलले पत्रकार सम्मेलनमा बताउनुभयो ।
निर्वाचन आयोगका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घण्टासम्म समय लागेको छ । लामो समय लाइनमा उभिनुपर्दा केही महाधिवेशन प्रतिनिधि बेहोससमेत भएको जानकारी दिइएको छ ।
जारी महाधिवेशनअन्तर्गत १९ जना पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि मतदान भइरहेको छ । कुल २२६३ जना मतदाता रहेकोमा ६२२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदानमा प्रतिघण्टा करिब १ सय जना प्रतिनिधिले मतदान गरिरहेका छन् । यस दरले सबै मतदाताको मतदान सकिन करिब २२ घण्टा लाग्ने अनुमान गरिएको छ । मतदानका क्रममा एक पटकमा ५० जना प्रतिनिधिलाई मतदान कक्षमा प्रवेश गराइँदै आएको छ ।
लामो समय उभिनु नपरोस् भन्नका लागि टोकन प्रणाली लागू गरिएको छ । लाइनमा बसेका तथा बाहिर प्रतीक्षारत सबै प्रतिनिधिलाई टोकन वितरण गरी सोही आधारमा मतदानका लागि बोलाउने व्यवस्था मिलाइएको छ ।
मतदान व्यवस्थापनको जिम्मा पाएको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालका अनुसार सबै प्रतिनिधिको मतदान बुधबार बिहान ७ बजेसम्म सकिने अनुमान गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणनामा ३ देखि ४ घण्टा लाग्ने बताइएको छ ।


