Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

बागलुङमा डा. स्वर्णिम वाग्लेको उद्घोष: “एक पटक घण्टीलाई बहुमत दिनुस्, काम नगरे लात हान्नुस्”

Advertisement

Advertisement

बागलुङ, ४ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले पुराना राजनीतिक दलका गलत क्रियाकलापलाई चुनौती दिएकै कारण उनीमाथि राजनीतिक प्रतिशोध साँधिएको बताउनुभएको छ।

​शुक्रबार बागलुङमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले पुराना पात्र र प्रवृत्तिका विरुद्ध जेहाद छेडेका कारण रवि लामिछानेलाई घेराबन्दीमा पारिएको दाबी गर्नुभयो।

रवि लामिछानेको साहस अनुकरणीय

​सम्बोधनका क्रममा डा. वाग्लेले सभापति लामिछानेको खुलेर प्रशंसा गर्नुभयो। “नेपाली जनताका नाममा दलहरूले गरेका कुशासन र आर्थिक बेथितिको भण्डाफोर गर्न रवि लामिछानेले जुन साहस देखाउनुभयो, त्यो आम युवाका लागि अनुकरणीय छ,” वाग्लेले भन्नुभयो, “रविले गरेको जस्तो आँट र साहस स्वर्णिम वाग्लेले गर्न सक्दैन।”

“एक पटक घण्टी बजाएर हेर्नुस्, काम नगरे लात हान्नुस्”

​संसदमा रास्वपाको सङ्ख्या (२१ सिट) कम भएकै कारण सोचेजस्तो परिवर्तन गर्न नसकिएको स्वीकार गर्दै उहाँले अबको निर्वाचनमा रास्वपालाई बहुमत दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो:

​”हामीलाई एक पटक बहुमत दिनुस्, हामी परिवर्तन देखाउँछौँ। यदि काम गर्न सकेनौँ भने अर्को पटक हामीलाई पनि लात हान्नुस्, हामी त्यसका लागि तयार छौँ।”

 

बागलुङको ऐतिहासिक विद्रोह र वर्तमान

​बागलुङको ऐतिहासिक राजनीतिक पृष्ठभूमिलाई स्मरण गर्दै डा. वाग्लेले बागलुङ सधैँ विद्रोह र परिवर्तनको पक्षमा उभिने जिल्ला भएको बताउनुभयो। २०१५ सालको निर्वाचनमा खुकुरी दल विजयी भएको प्रसङ्ग जोड्दै उहाँले अबको निर्वाचनमा बागलुङलाई ‘घण्टीमय’ बनाउन आह्वान गर्नुभयो।

कांग्रेसका वडा सभापतिसहित सयौँ रास्वपा प्रवेश

​कार्यक्रममा नेपाली कांग्रेस बागलुङ नगरपालिका वडा नं. २ का सभापति अमर बहादुर खड्का र निसीखोला गाउँपालिकाका कांग्रेस सहसचिव निरञ्जन ठकुरीसहित एक सयभन्दा बढी नेता-कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।

​रास्वपा बागलुङका सभापति महेन्द्र खड्काको अध्यक्षता र सचिव बबिन नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. वाग्लेले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै युवा शक्तिलाई स्वदेशमै रोजगारी दिने योजना रास्वपासँग रहेको बताउनुभयो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.