Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

समृद्ध राष्ट्र निर्माणका लागि गलकोट समाज जापानको सांगीतिक श्रृङ्खला २०२६

Advertisement

Advertisement

गलकोट । गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जापानका मुख्य तीन सहरमा ‘सांगीतिक श्रृङ्खला २०२६’ आयोजना गर्ने भएको छ।
“हाम्रो गाउँ, हाम्रो ठाउँ—हातेमालो गरी समृद्ध बनाऔँ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सांगीतिक श्रृङ्खलाको मुख्य उद्देश्य समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा लगानी गर्नु रहेको गलकोट समाज जापानले जनाएको छ।
गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतका अनुसार जापानका प्रमुख सहर टोकियो, ओसाका र नागोयामा सञ्चालन हुने सांगीतिक श्रृङ्खला २०२६ मा नेपालका चर्चित कलाकारहरू शिव परियार, समिक्षा अधिकारी, सूर्य खड्का र रामकृष्ण बम मल्लको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
नयाँ वर्ष २०२६ को स्वागतसँगै जापानमा रहेका नेपाली समुदायबीच उत्साह र उमङ्ग सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम समाजको २० वर्षे सामाजिक यात्रामा आधारित विश्वास, एकता र समुदायप्रतिको समर्पणलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
जापानलाई कर्मथलो बनाएका गलकोटेहरूको गौरवशाली संस्था गलकोट समाज जापान सन् २००६ मा स्थापना भएको हो। संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
अध्यक्ष बस्नेतका अनुसार सांगीतिक श्रृङ्खला अन्तर्गत २०२५ डिसेम्बर ३१ मा ओसाका, २०२६ जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा कार्यक्रम आयोजना गरिनेछ।

गत वर्षको सांगीतिक कार्यक्रमबाट संकलित आम्दानीबाट गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाभित्रका माध्यमिक तहका ११ विद्यालयमा जनही पाँच लाख रुपैयाँका दरले “गलकोट शिक्षा कोष” नामक अक्षयकोष स्थापना गरिएको थियो। यस कोषले विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा दीर्घकालीन शैक्षिक लगानीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। आगामी कार्यक्रमबाट संकलित आम्दानीबाट पनि सामाजिक क्षेत्रमा सहयोग गरिने समाजले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.