बागलुङ।रास्वपा नेता टेक पुन मगरले सामाजिक सञ्जालमार्फत जेन–जि (Gen Z) आन्दोलनपछि नेपाली समाजमा देखिएको राजनीतिक चेतना र मनोविज्ञानबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। उहाँले पछिल्लो समय युवापुस्ताबाट उठेको विद्रोही चेतनाले निराश नागरिकहरूमा नयाँ आशा जगाएको बताउनुभएको छ।
सामाजिक सञ्जालमा व्यक्त विचारमा नेता पुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समाजको मनोविज्ञान बुझ्ने प्रयास गर्नु सकारात्मक र समयसापेक्ष कदम भएको उल्लेख गर्नुभएको छ। साथै धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ र बर्दिया नगरपालिकाका मेयर गोपी हमाललाई पनि यस्ता पहलमा आवद्ध गराउन सकिए जनताको आशाको दियो अझ बलियोसँग बल्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले लामो समयदेखि सत्तामा उही पुराना नेताहरू घुमी–घुमी आउने अवस्थाबाट नागरिक वाक्क भइसकेको उल्लेख गर्दै जेन–जि आन्दोलनले त्यसैको प्रतिक्रियास्वरूप आशा र भरोसाको वातावरण सिर्जना गरेको बताउनुभएको छ। अब यो आशालाई केवल नारामा सीमित नराखी विश्वासमा रूपान्तरण गर्दै परिवर्तनलाई संस्थागत गर्नु आवश्यक रहेको उहाँको भनाइ छ।
नेता पुनका अनुसार विकास, सुशासन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो भूमिका निर्वाह गर्छ भन्ने विषयमा जनताको चासो बढेको छ।
त्यसका लागि आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्नु अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभएको छ। प्रतिनिधिसभामा १३८ सिट प्राप्त गर्न सके मात्र जनचाहनाअनुसारको परिवर्तन सम्भव हुने उहाँको तर्क छ।
उहाँले संगठित हुँदै गएको राजनीतिक टिमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ परिष्कृत, सुदृढ र समुन्नत बनाउँदै देखिएका कमी–कमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साथै पुराना राजनीतिक शक्तिहरूले पनि आत्मसमीक्षा गर्दै सच्चिनु आवश्यक रहेको उहाँको भनाइ छ।
अब ‘यो वाद’ वा ‘त्यो वाद’ भन्दा माथि उठेर ‘नेपालवाद’ र सुशासनमा केन्द्रित हुने समय आएको उल्लेख गर्दै नेता पुनले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई सबै मिलेर जोगाउनुपर्नेमा जोड दिनुभएको छ।
—
नेता टेक पुन मगर
गण्डकी प्रदेश, बागलुङ


