काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने औपचारिक घोषणा गरेका छन्।
रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई शनिबार सम्बोधन गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाटै लड्ने स्पष्ट पारे। “अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु,” प्रचण्डले भने, “पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने कुरा तपाईंहरूले बुझिराख्नुभएको छ।”
उनले पश्चिम रुकुमका जनताप्रति आफ्नो गहिरो विश्वास र सम्बन्ध रहेको उल्लेख गर्दै जनताको आशा र चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए। विकास निर्माणका कामलाई नयाँ शिराबाट अघि बढाइने र रुकुमका जनताको दुःख–सुखमा सधैं साथ रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार बन्ने भन्ने विषय सार्वजनिक भएको थिएन। उनलाई पार्टीका आधा दर्जनभन्दा बढी जिल्लाबाट उम्मेदवार बन्न सिफारिस गरिएको थियो। चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ र रुकुम पूर्वबाट उनको नाम सिफारिस भएको थियो।
२०६४ सालमा पहिलोपटक निर्वाचन लडेका प्रचण्डले हरेक निर्वाचनमा फरक–फरक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिँदै आएका छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए र दुवै क्षेत्रबाट विजयी भएका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवार बने। काठमाडौंबाट पराजित भए पनि सिरहाबाट उनी विजयी बनेका थिए।
संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो आम निर्वाचनमा प्रचण्ड गृहजिल्ला चितवन–२ बाट उम्मेदवार बनेर विजयी भए। त्यसपछि २०७९ सालको निर्वाचनमा उनले चितवन छाडेर गोरखा–२ बाट उम्मेदवारी दिए र त्यहाँबाट पनि विजयी बने।
यसपटक विभिन्न जिल्लाबाट उम्मेदवारीको सिफारिस भए पनि प्रचण्डले अन्ततः रुकुम पूर्वलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने निर्णय गरेका हुन्। शनिबारको सभामार्फत उनले आगामी निर्वाचन रुकुम पूर्वबाटै लड्ने घोषणा गर्दै आफ्नो राजनीतिक यात्रा अब रुकुमसँग जोडिने संकेत दिएका छन्।
प्रचण्डले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा


