
बाग्लुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङका जिल्ला सदस्य टेक बहादुर पुन (टेक पुन मगर) ले पुराना राजनीतिक दलहरूको आन्तरिक अभ्यासप्रति गम्भीर प्रश्न उठाउँदै मतदातालाई विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्।
बाग्लुङ क्षेत्र नम्बर २ का मतदातालाई लक्षित गर्दै मगरले भने, “आज पुराना राजनीतिक दलहरूमा दलभित्रकै नियम–कानुन आफ्नै स्वार्थअनुसार परिवर्तन गर्ने प्रवृत्ति बढ्दै गएको छ। केन्द्रका सीमित पदाधिकारीहरूले चाहेमा नियम र प्रक्रिया सजिलै फेरिन सक्छन् भन्ने यथार्थलाई नागरिकले बुझ्न आवश्यक छ।”
उनका अनुसार मतदान गर्दा कागजमा लेखिएका कानुनभन्दा पनि समाज र मनभित्र गहिरोसँग बसेका मूल्य, नैतिकता र इमानदारीलाई आधार बनाउनुपर्ने समय आएको छ।
“मनको कानुन, सामाजिक मूल्य र नैतिकतालाई कसैले हटाउन सक्दैन, जबसम्म व्यक्तिको नियत आफैं गलत हुँदैन,” उनले भने।
नेता मगरले राजनीतिक इतिहास स्मरण गराउँदै पुराना दलका केही नेताहरूले नयाँ र उदीयमान नेतृत्वलाई दबाउन जेल, जालझेल, षड्यन्त्र र आरोप–प्रत्यारोपको बाटो अपनाउँदै आएको आरोप लगाए। “यस्ता प्रवृत्ति बोकेका व्यक्तिहरूले भोलि आफ्नै अनुकूल वातावरण बनाउन दलभित्रका नियम फेरबदल नगर्लान् भन्ने ग्यारेन्टी हुँदैन,” उनको भनाइ थियो।
उनले नागरिकलाई पैसाको लोभ, डर वा भ्रममा नपरी समाजको दीर्घकालीन हित, सुशासन र समग्र विकासलाई आधार मानेर मत प्रयोग गर्न आग्रह गरे। “एउटा मतले पाँच वर्षसम्म देशलाई सही दिशामा लैजान पनि सक्छ, गलत दिशामा धकेल्न पनि सक्छ,” उनले जोड दिए।
अन्त्यमा मगरले बाग्लुङवासीलाई विवेकपूर्ण मतदान गर्न अपिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्न आग्रह गरे।


