बागलुङ, फागुन — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा स्थापना गरिएको उक्त कार्यालयको औपचारिक शुभारम्भ मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले गर्नुभयो।
शुभारम्भ कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सफल रूपमा सम्पन्न गर्न जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, पत्रकार तथा सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारहरूले सम्पत्ति विवरणसहित आवश्यक कागजात अनिवार्य रूपमा बुझाउनुपर्ने जानकारी पनि दिनुभयो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम समयमै गरिने र शान्ति सुरक्षामा कुनै कमी नआउने स्पष्ट पार्नुभयो। उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दलहरूको सक्रियता र आपसी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रम मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
बागलुङ क्षेत्र नं. १ अन्तर्गत बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन्। ती चार पालिकाका ३७ वडामा ९८ हजार ४६ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ४८ मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ।
यस्तै बागलुङ क्षेत्र नं. २ अन्तर्गत ६ वटा पालिकामा ९५ हजार ३३५ मतदाता रहेका छन् भने १ सय १५ मतदान केन्द्र रहनेछन्। क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदी रहनुभएको छ। क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा स्थापना गरिएको छ।
बागलुङमा प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


