काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको प्रचारप्रसारका क्रममा बालबालिकालाई प्रयोग नगर्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई कडा आग्रह गरेको छ। आयोगले सार्वजनिक सूचना जारी गर्दै आमसभा, जुलुस, र्याली तथा सामाजिक सञ्जालमार्फत हुने प्रचार गतिविधिमा बालबालिकाको सहभागिता निषेध गरिएको स्पष्ट पारेको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले यस्तो निर्देशन दिएको हो। पछिल्लो समय विभिन्न ठाउँमा चुनावी गतिविधिमा बालबालिका प्रयोग भइरहेको गुनासो बढेपछि आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
यसअघि जेनजी फ्रन्टले पनि विज्ञप्ति जारी गर्दै चुनावी प्रचारमा बालबालिकाको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको थियो। फ्रन्टले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नु बालअधिकार विपरीत हुने भन्दै तत्काल रोक्न माग गरेको थियो।
निर्वाचन आचारसंहिताले राजनीतिक प्रचार सामग्री, सार्वजनिक कार्यक्रम तथा गतिविधिमा बालबालिकाको नाम, तस्बिर वा प्रत्यक्ष सहभागिता प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। तर विगतका चुनावहरूमा बालबालिकालाई नारा लगाउने, पोस्टर बोक्ने र र्यालीमा सहभागी गराउने अभ्यास देखिँदै आएको छ। पछिल्ला दिनमा सामाजिक सञ्जालमा समेत बालबालिकामार्फत उम्मेदवारको प्रचार गराउने प्रवृत्ति बढेको आयोगको ठहर छ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई राजनीतिक शोषण मानिन्छ। संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि–१९८९ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धिहरूले बालबालिकालाई यस्ता गतिविधिबाट संरक्षण गर्ने स्पष्ट व्यवस्था गरेका छन्।
धेरै प्रजातान्त्रिक मुलुकहरूले आफ्ना चुनावी कानूनमार्फत बालबालिकालाई कुनै पनि किसिमको चुनावी प्रचारमा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्।
बालअधिकार उल्लङ्घन हुने भन्दै चुनावी प्रचारमा बालबालिका प्रयोग नगर्न आग्रह


