काठमाडौँ, माघ ११ — आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेका राष्ट्रियसभाका १८ पदका लागि आज सातै प्रदेशमा निर्वाचन भइरहेको छ। प्रदेश राजधानीमा तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदान प्रक्रिया आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ। राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुख मतदाता रहने व्यवस्था छ।
कुल १८ पदमध्ये कोसी प्रदेशमा खस आर्यतर्फको एक पदमा भने निर्वाचन नहुने भएको छ। सो पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १७ पदका लागि आज मतदान भइरहेको आयोगले जनाएको छ।
यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन केही जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि यसपटक राष्ट्रियसभा निर्वाचनको कुल मतभार अघिल्लोपटकको तुलनामा घटेको आयोगले जानकारी दिएको छ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा गरिएको आयोगको भनाइ छ।
राष्ट्रियसभा सदस्य चयनका लागि सातै प्रदेशमा मतदान


