बाग्लुङ । बाग्लुङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अभियन्ता सोम शर्मालाई उम्मेदवारका रूपमा अघि सारेसँगै स्थानीयस्तरमा क्षमता, इमानदारी र दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्नुपर्ने बहस तीव्र बनेको छ।
समर्थकहरूका अनुसार बाग्लुङ–२ ले सोम शर्मा जस्तो अब्बल, सक्षम र देशका लागि उपयोगी व्यक्तित्व पाउनु सकारात्मक अवसर हो। अब उम्मेदवार कुन क्षेत्रको हो भन्नेभन्दा पनि को व्यक्ति सक्षम छ र देश निर्माणमा कत्तिको योगदान दिन सक्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्ने उनीहरूको भनाइ छ।
भदौ २३ र २४ मा सम्पन्न जेन्जी आन्दोलनको मूल माग पनि यही रहेको उल्लेख गर्दै समर्थकहरूले आफ्नो घर, टोल वा समूह मात्र हेर्ने नेता होइन, नीति, नियम र प्रणालीमार्फत देश बनाउने नेतालाई संसदमा पठाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
जेन्जी आन्दोलनको अग्रपंक्तिमा उभिएका अभियन्ता सोम शर्मा आन्दोलनमा मात्र सीमित नरही विभिन्न स्थानमा गरिब, पीडित तथा अन्यायमा परेकाहरूको पक्षमा उभिँदै सामाजिक सेवामा सक्रिय रहँदै आएको बताइन्छ। यही कारणले उहाँ अन्य उम्मेदवारभन्दा फरक र प्रभावशाली देखिएको समर्थकहरूको धारणा छ।
यद्यपि अन्य उम्मेदवारहरूप्रति पनि सम्मान व्यक्त गर्दै समर्थकहरूले नेपालको राजनीतिक अभ्यास र संविधानले कुनै पनि सक्षम व्यक्तिलाई देशका १६५ वटै निर्वाचन क्षेत्रमध्ये जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिन सक्ने व्यवस्था गरेको स्मरण गराएका छन्।
सामाजिक सञ्जालमा ‘अरू क्षेत्रबाट आएर चुनाव लड्नु हुँदैन’ भन्ने आवाज उठे पनि समयको माग, जेन्जी आन्दोलनको भावना र वर्तमान आवश्यकता भनेको भुइँको आवाज संसदसम्म पुर्याउन सक्ने हिम्मत, क्षमता र स्पष्ट दृष्टि भएको व्यक्ति रहेको उनीहरूको भनाइ छ।
देशका समस्याहरू पहिचान गरी तिनलाई प्रणालीमार्फत समाधानतर्फ लैजान सकिए टोल, पालिका, जिल्ला हुँदै देश नै सुध्रिने विश्वास व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले बाग्लुङ क्षेत्र नं. २ मा सोम शर्मालाई अघि सारेको जनाएको छ।
यसै सन्दर्भमा समर्थकहरूले घण्टी चिन्हमा मतदान गरी सोम शर्मालाई भारी मतले विजयी गराउन अपिल गरेका छन्।
बाग्लुङ–२ मा सोम शर्मालाई अघि सार्दै ‘क्षमता र दृष्टि’लाई प्राथमिकता दिन आग्रह


