गलकोट (बागलुङ) ।
आगामी निर्वाचनलाई लक्षित गर्दै बागलुङको गलकोट नगरपालिका वडा नम्बर ६ मा वाम मोर्चाको संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ। नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले वडाका विभिन्न स्थान समेट्ने गरी संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्।
संविधान र गणतन्त्र रक्षाका लागि वाम मोर्चाको जित अनिवार्य: अर्जुन चोखाल
कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश सदस्य अर्जुन चोखालले मुलुकको राजनीतिक उपलब्धिको रक्षाका लागि वामपन्थी शक्तिहरूको विजय अपरिहार्य रहेको बताउनुभयो। उहाँले बाम मोर्चाका संयुक्त उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ लाई वडा नम्बर ६ लगायत क्षेत्र नम्बर २ बाट अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन निर्देशन दिनुभयो।
नेता चोखालले भन्नुभयो— “संविधान, गणतन्त्र र संघीयताको रक्षाको लागि नेपाली कम्युनिस्ट पार्टीको जित अनिवार्य छ। पार्टीले गरेको आन्दोलनकै कारण आज महिला, दलित, अल्पसङ्ख्यक, मुस्लिम र जनजातिले राज्यका निकायमा विशेष अधिकार प्राप्त गरेका हुन्।”
१०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन थम्मन बुढाथोकीको संयोजकत्व र चन्द्रमोहन बि.क. को सह-संयोजकत्वमा १०५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ।
यसैगरी, वडा नम्बर ६ अन्तर्गतका विभिन्न टोलहरू चराँैदी, कायस, जामुनडाँडा, नेपाने, भुजुंगे र ठुलाथरमा समेत युवा तथा महिलाहरूको छुट्टाछुट्टै निर्वाचन परिचालन उप-समितिहरू गठन गरी प्रचारप्रसारलाई तीव्रता दिइएको छ।
कार्यक्रमको संक्षिप्त विवरण
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य एवं वडा नं. ६ निर्वाचन परिचालन इन्चार्ज हर्क पाण्डे र नेपाली कम्युनिस्ट पार्टीका गलकोट नगर संयोजक गंगा भुजेलले समेत चुनावी रणनीति र मोर्चाको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो।
नेपाली कम्युनिस्ट पार्टी गलकोट वडा नं. ६ का अध्यक्ष थम्मन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नगर सह-सचिव चन्द्रमोहन बि.क. ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर कोषाध्यक्ष राम प्रसाद कँडेलले गर्नुभएको थियो।


