बागलुङ, माघ २१ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बागलुङ जिल्लामा नेपाली सेना परिचालन गरिएको छ ।
जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सेना परिचालन गरी फिल्डमा खटाइएको नेपाली सेनाले जनाएको छ । निर्वाचन सुरक्षाका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना नेपाल सरकारबाट अनुमोदन भइसकेको छ भने राष्ट्रिय सुरक्षा परिषद्बाट समेत सेनाको परिचालन स्वीकृत भएको छ ।
निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचन पूर्वको चरणमा मतपत्र छपाइ तथा ढुवानी, महत्वपूर्ण संरचनाको सुरक्षा जस्ता कार्यमा सेना परिचालित हुनेछ ।
मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचन स्थल तथा केन्द्रमा खटिनेछ । यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिने जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सहज होस् भन्ने उद्देश्यले सेना परिचालन गरिएको हो । यसअघि झैँ यसपटक पनि सेनाले विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरेको छ ।
मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा लगायतका जिम्मेवारी पनि नेपाली सेनाले सम्हाल्ने बताइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन बागलुङमा सेना परिचालन


