बागलुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नम्बर ३ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले मोहन भर्तेलको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला उपसभापति ढालिन्द्र रायमाझीले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले “पुराना शैलीका राजनीति भन्दा फरक अभ्यास र पारदर्शितामार्फत जनताको विश्वास जित्न सकिन्छ,” भन्दै नयाँ नेतृत्वले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो।
उहाँले नजिकिँदै गरेको निर्वाचनलाई अवसरका रूपमा लिन आग्रह गर्दै गठन गरिएको समितिले वडास्तरमा पार्टीको गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार सोम शर्माले आफ्नो मन्तव्यमा स्थानीय मुद्दा, विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
अधिवेशनबाट उपसभापतिमा रामु गिरी, सचिवमा माईकल खत्री सहित अन्य सदस्यहरू चयन भएका छन्।
कार्यक्रम मोहन भर्तेलको अध्यक्षता तथा गलकोट नगरपालिका वडा नम्बर १० का सभापति याम बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।
ताराखोला–३ मा रास्वपाको नयाँ समिति गठन, चुनावी तयारी तीव्र


