बागलुङ, — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कार्यकर्ता प्रशिक्षण तथा जनसंवाद कार्यक्रमका लागि बिहीबार बिहान गलकोट नगरपालिका–३ हटिया आउने भएका छन्।
बागलुङ जिल्लामा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएपछि साझा वाम उम्मेदवारलाई विजयी बनाउन शीर्ष नेताहरू जिल्लामा सक्रिय भएका हुन्। बुधबार बागलुङ बजारमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ भने बिहीबार बिहान ८ बजे हटिया बजारमा र दिउँसो १२ बजे बुर्तिबाङ बजारमा कार्यकर्ता प्रशिक्षण तथा जनसंवाद कार्यक्रम आयोजना गरिने वाम गठबन्धन निर्वाचन परिचालन समिति बागलुङ क्षेत्र नम्बर २ का संयोजक फमलाल निउरेले जानकारी दिए।
शीर्ष नेताहरूको उपस्थितिले निर्वाचनको सरगर्मी अझै बढ्ने अपेक्षा गरिएको छ।
बागलुङमा साझा वाम उम्मेदवारका रूपमा क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’ उम्मेदवार रहेका छन्।
प्रचण्ड र मोहन विक्रम सिंहको बागलुङ दौडाहा, हटिया र बुर्तिबाङमा प्रशिक्षण तथा जनसंवाद


