बागलुङ, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ नगरपालिका क्षेत्रमा विद्यालयका विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान विद्यार्थी बोकेर रात्माटा जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त भ्यान बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै अनियन्त्रित भई सडकबाट खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी धौलागिरी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूको सघन उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बागलुङमा स्कूल भ्यान दुर्घटना : २४ घाइते, चारको अवस्था गम्भीर


