Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

दुई तिहाइ आए पनि सचेत प्रतिपक्ष बन्नुपर्छ : भोजेन्द्र सुवेदी

Advertisement

Advertisement

प्रवास नेपाली सम्पर्क विभाग जापान, राष्ट्रिय समितिका कार्यवाहक प्रमुख भोजेन्द्र सुवेदीले लोकतन्त्रमा सत्तामा जो भए पनि जनताको आवाज सधैं बलियो हुनुपर्ने बताउनुभएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भविष्यमा दुई तिहाइ बहुमत प्राप्त गरे पनि आलोचना र प्रश्न गर्ने अधिकार समाप्त नहुने धारणा व्यक्त गर्नुभएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै सुवेदीले रास्वपाले दुई तिहाइ बहुमत ल्याए त्यो केवल चुनावी जित मात्र नभई लाखौं नेपालीको आशा, भरोसा र परिवर्तनको सपनाको जित हुने बताउनुभयो। तर बहुमत प्राप्त भएपछि आलोचना समाप्त हुन्छ भन्ने धारणा गलत भएको उहाँको भनाइ छ।
उहाँले बाहिर प्रतिपक्ष कमजोर भए पनि समर्थकहरू नै सचेत भएर भित्रबाट प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो। इतिहासले सत्ता बलियो हुँदा सबैभन्दा ठूलो खतरा विपक्षीबाट भन्दा अन्ध समर्थनबाट आउने देखाएको उल्लेख गर्दै उहाँले कार्यकर्ताहरू केवल ताली बजाउने काममा सीमित भए परिवर्तनको यात्रा कमजोर हुने बताउनुभयो।

सुवेदीका अनुसार साँचो समर्थक भनेको सधैं ताली बजाउने होइन, सही काममा साथ दिने र गलत बाटो लागे निडर भएर सच्याउन आवाज उठाउने व्यक्ति हो। यदि रास्वपा सरकारमा पुगेको अवस्थामा सरकारले जनतासँग गरेका वाचा पूरा गरिरहेको छ कि छैन, निर्णयहरू पारदर्शी छन् कि छैनन् र नीतिहरू जनताको हितमा छन् कि छैनन् भन्ने विषयमा समर्थकहरूले नै निरन्तर प्रश्न उठाउनुपर्ने उहाँको धारणा छ।
उहाँले अन्ध समर्थनभन्दा साहसी आत्मआलोचनाले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै जहाँ आलोचना बन्द हुन्छ त्यहाँ सुधार पनि बन्द हुने र जहाँ प्रश्न सोध्न डर लाग्छ त्यहाँ लोकतन्त्र कमजोर हुने बताउनुभयो।

सुवेदीले पार्टीका कार्यकर्ता र समर्थकहरू झोले संस्कृतिबाट टाढा रहँदै सचेत नागरिकको रूपमा देश परिवर्तनको अभियानमा लाग्नुपर्ने बताउनुभयो। सही काम भए सबैभन्दा ठूलो समर्थक बन्ने र गल्ती भए सबैभन्दा पहिले सच्याउन आवाज उठाउने संस्कार विकास गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले अन्त्यमा रास्वपा साँच्चिकै फरक पार्टी बन्न चाहन्छ भने आफ्ना समर्थकहरूलाई प्रश्न गर्ने अधिकार दिनु आवश्यक रहेको उल्लेख गर्दै आलोचनालाई कमजोरी नभई शक्ति मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै हाल “चुपचाप घण्टी छाप” भनी जित दिलाएजस्तै भोलि “चुपचाप साइड लाग” भन्नुपर्ने अवस्था नआओस् भन्ने कामना गर्दै उहाँले जित हासिल गर्ने सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको छ।
– भोजेन्द्र सुवेदी
कार्यवाहक प्रमुख, प्रवास नेपाली सम्पर्क विभाग जापान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.