काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरण ले देशभर मौसम बदलीसँगै भोलिदेखि तीन दिनसम्म तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिहीबार जारी विज्ञप्तिअनुसार प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै विशेषगरी पहाडी, हिमाली तथा तराईका केही क्षेत्रमा जोखिम बढ्ने जनाएको हो ।
प्राधिकरणका अनुसार शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, शुक्रबारदेखि नै दाङ र नेपालगञ्ज आसपास लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति झण्डै ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने जनाइएको छ ।
प्रि–मनसुनको समय भएकाले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै जोखिम क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरी चलेका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न तथा सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकेर बस्न अनुरोध गरेको छ ।
यस्तै, भीडभाडमा नआत्तिन, भागदौड नगरी सुरक्षित स्थानतर्फ जान, कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा र तार मुनि नबस्न पनि आग्रह गरिएको छ । लत्रिएको विद्युत् तार नछुन र सो समयमा विद्युतीय उपकरण प्रयोग नगर्न समेत प्राधिकरणले सचेत गराएको छ ।
तीव्र हावाहुरी र वर्षाको चेतावनी: तीन दिन विशेष सतर्कता अपनाउन आग्रह


