Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गलकोट नगरपालिकाबाटै प्यान कार्ड सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

Advertisement

Advertisement

गलकोट नगरपालिकाले सेवा प्रवाहलाई जनमुखी, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित आजदेखि प्यान (स्थायी लेखा नम्बर) कार्ड वितरण सेवा सुचारु गरेको छ । बागलुङ जिल्लामै पहिलोपटक स्थानीय तहबाटै यस्तो सेवा सुरु गरिएको हो ।
यसअघि प्यान कार्ड बनाउन सेवाग्राहीहरूले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोमा अब नगरपालिकाबाटै सेवा सुरु भएसँगै समय, खर्च र झन्झटको उल्लेख्य बचत हुने अपेक्षा गरिएको छ । विशेषगरी दुर्गम क्षेत्रका बासिन्दाका लागि यो सेवा निकै उपयोगी हुने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले स्थानीय सरकार जनताको घरदैलोमै सेवा पुर्याउने अवधारणाअनुसार अघि बढिरहेको बताउँदै प्यान कार्ड वितरण सेवा सुरु गर्नु महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा थप सेवाहरू पनि नगरपालिकाबाटै उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर जिसीले नगरपालिकाले प्रविधिमैत्री सेवा विस्तारमा जोड दिइरहेको बताउँदै आगामी दिनमा थप सेवाहरू स्थानीय स्तरमै उपलब्ध गराइने बताउनुभयो ।
आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले प्यान कार्डको महत्वबारे प्रकाश पार्दै यसले कर प्रणालीलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार प्यान कार्ड बैंकिङ, व्यवसाय दर्ता र रोजगारी लगायतका क्षेत्रमा आवश्यक आर्थिक परिचयका रूपमा काम गर्छ ।

सेवाग्राहीका तर्फबाट निशा श्रेष्ठले स्थानीय तहबाटै सेवा पाउँदा अत्यन्तै सहज भएको प्रतिक्रिया दिनुभयो । उहाँले पहिले साना कामका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यता रहेकोमा अब आफ्नै ठाउँमा सेवा पाउँदा खुशी लागेको बताउनुभयो ।
आज सेवा सुरु भएको पहिलो दिनमै ३३ जनाले प्यान कार्ड सम्बन्धी सेवा लिएका छन् । कार्यक्रम नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता तथा प्रशासकीय अधिकृत रामचन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्थानीय तहबाट सेवा विस्तार गर्ने यस पहललाई सेवा प्रवाह सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.