बागलुङ जिल्लाको गलकोट क्षेत्रमा देखिएका विभिन्न समस्या र अवरोधका कारण निर्माण तथा हार्डवेयर व्यवसाय आंशिक रूपमा प्रभावित बनेका छन्। निर्माण तथा हार्डवेयर व्यवसायीहरूले केही समयका लागि बिक्री वितरण र निर्माण कार्य आंशिक रूपमा स्थगित गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
गलकोटमा सक्रिय निर्माण व्यवसायी र हार्डवेयर व्यवसायीहरूको संयुक्त बैठकपछि नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न मागहरू अघि सारिएका छन्। व्यवसायीहरूले निर्माण क्षेत्र, उपभोक्ता समिति, अस्पताल तथा शैक्षिक संस्थासँग सम्बन्धित विषयमा फैलिएका भ्रम र आरोपबारे सत्य–तथ्य सार्वजनिक गर्न माग गरेका छन्। साथै सामाजिक सञ्जालमार्फत आधारहीन आरोप लगाउने, भ्रम फैलाउने तथा प्रतिष्ठामा आँच पुर्याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरिएको छ।
त्यसैगरी गिटी, ढुंगा र बालुवा सम्बन्धी समस्यामा सम्बन्धित निकायबाट सहजीकरण गर्नुपर्ने, निर्माण कार्यलाई निरन्तरता दिन सहज वातावरण बनाइनुपर्ने माग गरिएको छ। देशभर देखिएको गिटी, ढुंगा र बालुवा अभाव, ढुवानी तथा श्रमिक संकटलाई ध्यानमा राख्दै काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। हाल सञ्चालनमा रहेका उत्खनन कार्यलाई राजस्वको दायरामा ल्याई मापदण्डअनुसार दर्ता प्रक्रिया सहज बनाउन पनि अनुरोध गरिएको छ।
प्राइभेट घर निर्माण गर्ने ठेकेदारहरूलाई कर प्रणालीमा समेटी दर्ता प्रक्रिया सरल बनाउनुपर्ने र हार्डवेयर व्यवसायीहरूलाई पनि व्यवस्थित कर प्रणालीमा आबद्ध गराउँदै सहजीकरण गर्नुपर्ने माग गरिएको छ।
शैक्षिक संस्थासँग जोडिएका संवेदनशील विषयलाई लिएर अनावश्यक विवाद नगर्न, विद्यालयहरू प्रभावित नहुने वातावरण बनाउन र समाजमा सकारात्मक सन्देश जाने गरी जिम्मेवार व्यवहार गर्न समेत व्यवसायीहरूले अपिल गरेका छन्।
ध्यानाकर्षण पत्रमा गलकोट निर्माण व्यवसायी संघका अध्यक्ष योगेश भण्डारी र गलकोट हार्डवेयर व्यवसायी संघका संयोजक विरबल श्रेष्ठको हस्ताक्षर रहेको छ।



