काठमाण्डौ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बिहीबार बिहानदेखि वर्षा भइरहेको छ । मौसमविद्हरूका अनुसार पश्चिमदेखि पूर्वसम्म पालैपालो वर्षा हुने प्रणाली सक्रिय रहेकाले दिनभर विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले हाल देखिएको वर्षा र बदलीको अवस्था अझै करिब दुई हप्तासम्म कायम रहने जानकारी दिनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनमा पनि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने उल्लेख गरिएको छ ।
महाशाखाका अनुसार अहिले सक्रिय मौसमी प्रणाली पश्चिमबाट उत्तर–पूर्वतर्फ सरिरहेको छ । यसको प्रभावका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना पनि औँल्याइएको छ ।
त्यसैगरी, अन्य प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् । पछिल्ला केही दिनदेखि देशका विभिन्न स्थानमा लगातारजसो वर्षा भइरहेको छ ।
यता, प्रि-मनसुन अवधिमा पर्याप्त वर्षा भए पनि यस वर्षको मनसुनमा भने औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको मध्य क्षेत्रमा कम वर्षा र तापक्रम बढी हुने सम्भावना देखिएको हो ।
मौसमविद्हरूका अनुसार प्रशान्त महासागरमा विकसित एल निनो र हिन्द महासागरको इन्डियन ओसन डाइपोलमा आएको परिवर्तनका कारण मनसुन कमजोर बन्न सक्ने देखिएको छ । यसले कृषि उत्पादन र जलविद्युत् आपूर्तिमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
विज्ञहरूले सम्भावित कम वर्षालाई मध्यनजर गर्दै वैकल्पिक बाली छनोट गर्न, पानीको संरक्षण तथा भण्डारणमा ध्यान दिन सुझाव दिएका छन् ।
देशभर वर्षा सक्रिय, अझै दुई हप्तासम्म बदली र पानी पर्ने सम्भावना


